काठमाडौं/
अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागिरहेको बताउनु भएको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले आफु मन्त्रालयको जिम्मेवारीमा आएपछि अर्थतन्त्रमा देखिएका चूनौतिलाई चिन्ने र समाधान खोज्ने काममा निरन्तर लागेको बताउनुभएको छ । उहाँले मुलुकको अर्थतन्त्रको सन्दर्भमा अर्थतन्त्र समस्या वा दवावमा रहेको मनोविज्ञान प्रकट हुने गरेको भन्दै जिम्मेवार निकायमा बसेकाहरुले समस्याको बर्णन नभई समस्या समाधानका लागि सार्थक पहल गर्नुपर्ने समेत बताउनु भएको छ । उहाँले अहिलेको बजेट आर्थिक सुधारको अन्तिम किस्ता नभएकाले सुधारका कामहरु निरन्तर अघि बढ्ने समेत बताउनु भएको छ । उहाँले बाञ्चित सीमाभित्र रहेर अहिले अनुशासित ढंगले बजेट निर्माण भएको र बजेटमार्फत आएका नीतिगत प्रवन्धले निजि क्षेत्र समेत उत्साहित देखिएको समेत दाबी गर्नुभएको छ । उहाँले मौद्रिक नीति र वित्तनीतिमा सहि सन्तुलन भएर नै अर्थतन्त्र अगाडि बढ्ने स्पष्ट पार्नुभएको छ ।
उहाँले मौद्रिक नीति र वित्तनीतिबीच समन्वय हुनुपर्ने राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको भनाई सकारात्मक रहेको समेत उल्लेख गर्नुभएको छ ।