बीबीसी/
स्विट्जरल्यान्डको जेनेभामा युरोपेली विदेशमन्त्रीहरूले इरानी समकक्षी अब्बास अराघचीसँग भेटबार्ता गरेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएको छ ।
इरान र इजरायलबीचको संकट कम गर्ने प्रयासका रूपमा बेलायत, फ्रान्स र जर्मनका विदेशमन्त्रीहरूले इरानी समकक्षीसँग वार्ता गरेको बीबीसीले जनाएको छ । यदि बैठकहरू योजना अनुसार भएमा इजरायलले एक हप्ताअघि इरानमाथि आक्रमण गरेपछि इरान र पश्चिमी सरकारहरूबीचको यो पहिलो प्रत्यक्ष वार्ता समेत रहेको बताइएको छ । ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि इजरायली आक्रमणमा अमेरिका सामेल हुने कि नहुने भन्ने निर्णय आउँदो दुई हप्तामा गर्ने बताएपछि युरोपेली विदेशमन्त्रीहरूले इरानी समकक्षीसँग वार्ता गर्न लागेका खबरमा उल्लेख छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले यस विषयमा वार्ताका लागि प्रशस्त अवसर रहेको विश्वास गरेको बताउनु भएको छ । यसैबीच, इजरायल र इरानबीच सातौं दिन पनि दोहोरो आक्रमण जारी रहेको छ । इजरायली सेनाले इरानमा रहेको मिसाइल उत्पादन स्थलहरूसहित दर्जनौं पूर्वाधारहरूमा आक्रमण गरेको बताएको छ । अन्र्तराष्ट्रिय आणविक ऊर्जा एजेन्सीले अरक शहर नजिकै रहेको इरानी आणविक स्थलमा इजरायलको आक्रमणबाट प्रमुख भवनहरू क्षतिग्रस्त भएको पुष्टि गरेको छ ।।