काठमाडौं/
इजरायल र इरानबाट नेपालीहरुको उद्धारको तयारीमा सरकार लागि परेको बताएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थिति अनुसार त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपायहरु अवलम्बन गर्ने र नेपाल फर्कन चाहनेहरुलाई उद्धार गर्ने तयारीमा रहेको बताउनु भएको छ ।
आज परराष्ट्र मन्त्रालयमा सम्पन्न श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयसँगको संयुक्त बैठकमा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले इजरायल र इरानमा जारी रहेको युद्धका कारण उत्पन्न परिस्थिति र त्यसको तयारी बारेमा समेत जानकारी गराउनु भएको थियो । उहाँले परराष्ट्र मन्त्रालयको समन्वयमा इजरायलस्थित नेपाली दूताबासले सक्रिय रुपमा काम गरिरहेको, स्वदेश फर्कन चाहने नेपालीका लागि रजिष्ट्रेसन पनि खुलेको र स्वदेश फर्कन चाहेमा उद्धारका लागि त्यसको प्रबन्धको तयारीमै सरकार रहेको बताउनु भएको छ ।।