काठमाडौं/
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ मा रहेको कृष्णा उच्च माध्यमिक विद्यालयमा भवन निर्माणमा अनियमितता गरेको आरोपमा आयोगले विशेष अदालत काठमाडौँमा गत शुक्रबार मुद्दा दायर गरेको जनाएको छ । विद्यालयको चारकोठे भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयको २४लाख रुपैयाँ अनुदान र २१ लाख १० हजार ८९२ रुपैयाँ बराबरको जनसहभागितामा विद्यालय भवन निर्माण भएको थियो ।
आयोगबाट विद्यालय भवनको स्थलगत अनुगमन, निरीक्षण एवं नापजाँच गरी पेस भएको प्राविधिक प्रतिवेदन हेर्दा कम गुणस्तरको कार्य भएको तथा हाल प्रयोग प्रचलनमा नरहेको देखिएको ठहर गरेको छ । विद्यालय निर्माणको जिम्मेवारी वहनै नगरी विद्यालयको खातामा रोक्का रहेको रकम निकासा गर्न नापी किताब तथा मूल्याङ्कन प्रतिवेदन समेतमा हस्ताक्षर गरी २५ लाख रुपैयाँ रकम निकासा गरेको तथा फिल्डमा हुँदै नभएको कार्य नापी किताबमा समावेश गरी ४१ लाख २० हजार रुपैयाँ रकमको मूल्याङ्कन प्रतिवेदनलाई सदर गरेको आयोगले दाबी गरेको छ । साथै गुणस्तरहीन कार्य भएको भनी प्राविधिक प्रतिवेदनमा उल्लेख भएको हुँदाहुँदै पनि तत्कालीन जिशिअ नेपालको समेत मिलेमतोमा अति आवश्यक रहेको देखाई झुटा बिल भर्पाइँका आधारमा रकम निकासा सदर गरी २५ लाख ५० हजार रुपैयाँँबराबरको रकम आफूहरूलाई लाभ र नेपाल सरकारलाई हानि पु¥याएको आयोगले जनाएको छ ।
आयोगले जिशिअका तत्कालीन इन्जिनियर बृधन यादव, सबइन्जिनियर शिवराज राई, जिसिअका तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य र लेखापाल सुरेशकुमार श्रेष्ठ र सोही विद्यालयका तत्कालीन प्रधानाध्यापक खेमराज मगरविरुद्ध पनि मुद्दा दायर गरेको छ । सोही विद्यालयका व्यवस्थापन समितिका दुई जना पूर्वअध्यक्ष टीकाराम राई र हरिनारायण राई तथा विद्यालय भवन निर्माण गर्ने व्यक्ति जयप्रसाद राईविरुद्ध पनि मुद्दा दायर गरिएको जनाइएको छ । सबैलाई २५ लाख ५० हजार रुपैयाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरिएको आयोगका प्रवक्ता राजेन्द्र पौडेलले बताउनुभएको छ ।।