रौतहट/
रौतहट स्थित मोबाइल चार्ज गर्ने क्रममा विद्युतीय करेन्ट लागेर एकजना गर्भवती महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राजपुर नगरपालिका–३ डमार पोखरीया गाउँकी ३५ वर्षीय गुलनाज खातुन रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताउनु भएको छ । हिजो आफ्नै घरमा मोबाइल चार्जमा लगाउन जाँदा खातुन लाई विद्युतीय करेन्ट लागेको बताइएको छ । करेन्ट लागेर गम्भीर घाइते भएकी खातुनलाई प्रादेशिक अस्पताल गौरमा उपचारको लागि लैजाँदा बाटोमै मृत्यु भएको बताइएको छ । मृतक खातुन गर्भवती रहेको प्रादेशिक अस्पताल गौरका मेसु डाक्टर मुरारी ठाकुरले बताउनु भएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको तथा घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।।