इजिप्टका विदेशमन्त्री सामेह शौकरीले इजरायलले युद्धग्रस्त क्षेत्रमा मानवीय र राहत सहायताको लागि पूर्ण, सुरक्षित र निर्बाध पहुँचका लागि इजरायल र गाजापट्टी बीचको सबै भूमि नाकाहरू खोल्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।
गाजाका लागि संयुक्त राष्ट्रसंघका वरिष्ठ मानवीय तथा पुनर्निर्माण संयोजक सिग्रिड कागसँग टेलिफोन वार्ताका क्रममा शौकरीले उक्त टिप्पणी गर्नुभएको हो । शिर्ष इजिप्टका कुटनीतिज्ञ र संयुक्त राष्ट्रका अधिकारीले रफाहमा इजरायली सैन्य कारबाहीका साथै रफाह क्रसिङको प्यालेस्टाइन पक्षमा इजरायली नियन्त्रणको खतरामा जोड दिनुभयो । उनीहरुले मानवीय सहायताका लागि रफाह क्रसिङमा प्रवेश गर्न र यसको वरपरको क्षेत्रमा सैन्य अपरेसनहरू अन्त्य गर्नका लागि सुरक्षित अवस्थाहरू सुनिश्चित गर्न पनि जोड दिएका छन् । शौकरीले इजरायलले मानवीय कामदारहरूको सम्मान र संरक्षण गर्ने, अन्तर्राष्ट्रिय राहत एजेन्सीहरूको मुख्यालयलाई लक्षित नगर्ने, साथै गाजा पट्टीमा राहत दलहरूको पहुँच र स्वतन्त्रता सुनिश्चित गर्ने महत्वलाई पुष्टि गर्नुभयो ।।