कक्षा १२ को परीक्षा आजदेखि देशभर एकै साथ सुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
आज परीक्षा बिहान ८ बजेदेखि सुरु भएको सो परिक्षा विहान ११ बजेसम्म सञ्चालन हुने छ । यसअघि वैशाख ११ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित भएको थियो । देशभरका केन्द्रमा १ हजार ५९० र जापानमा एक गरी कुल १ हजार ५९१ परीक्षा केन्द्रबाट परिक्षा भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनु भएको छ । उहाँले सबैभन्दा बढी काठमाडौंमा १ सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक वटा केन्द्र रहेको बताउनु भएको छ ।
सवै परीक्षाका लागि केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सख्याका आधारमा दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको समेत उहाँले बताउनु भएको छ । परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएको अध्यक्ष शर्माले जानकारी दिनुभएको छ । यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी भएको समेत उहाँले बताउनु भएको छ ।
बोर्डका अध्यक्ष शर्माले कक्षा १२ को परीक्षाको निर्धक्क भएर सहभागी हुन सम्पुर्ण परीक्षार्थीलाई आग्रह समेत गर्नुभएको छ । परीक्षामा कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका निम्ति विशेष व्यवस्था गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभएको छ । त्यसैगरी, कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था समेत मिलाइएको उहाँले बताउनु भएको छ । जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको अनुमतिबिना जोकोहीलाई परीक्षा केन्द्रमा प्रवेशमा रोक लगाइएको समेत बताइएको छ ।