काठमाडौं/
सरकारले सगरमाथा संवाद २०२५ को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
सगरमाथा संवाद २०२५ व्यवस्थापन समितिले काठमाडौंमा पत्रकार सम्मेलन गरि सो कुरा बताएको हो । जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुन लागेको सगरमाथा संवाद २०२५ को तयारी अन्तिम चरणमा पुगेको परराष्ट्रमन्त्री तथा सगरमाथा संवाद २०२५ व्यवस्थापन समिति संयोजक डा. आरजु राणा देउवाले बताउनु भएको छ । उहाँले विशिष्ट विदेशी र स्वदेशी पाहुनाहरू सहभागी हुने सम्वादको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको समेत बताउनु भएको छ ।
सो कार्यक्रममा संवाद सम्बन्धी तयार पारिएको एक चिनारीयुक्त भिडियो प्रस्तुत गरिने र चीन र भारतका तर्फबाट प्रतिनिधिमण्डलका साथै अजरबैजानी राष्ट्रपतिका जलवायु विषय सम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको उहाँले बताउनु भएको छ । परराष्ट्रमन्त्री राणाले संवादमा १७५ जना विदेशी पाहुनाहरू सहित नेपाली सहभागीहरू गरी ३५० जना सहभागीहरूले भाग लिनुहुने बताउनुभएको छ । उहाँले जसमध्ये १२ देशबाट उच्च तहबाट प्रतिनिधिमण्डलहरू सहभागी हुने जानकारी दिनुभएको छ । सो संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय पाहुनाहरूले प्रधानमन्त्रीसँग शिष्टाचार भेटघाट लगायत समकक्षी मन्त्रीसँग साइडलाइन भेटवार्ताको व्यवस्था पनि मिलाइएको मन्त्री राणाले उल्लेख गर्नुभएको छ ।