सुदूरपश्चिम ११ लाई स्तब्ध पार्दै झापा ११ को विजयी सुरुवात

Everest Fuji News २०७४ फाल्गुन १९ मा प्रकाशित       Published at 2018 Mar 03


भद्रपुर, (झापा) : तेस्रो झापा गोल्डकप शनिबारदेखि सुरु भएको छ। उद्घाटन खेलमा घरेलु टोली झापा ११ फुटबल क्लवले विजयी सुरुवात गरेको छ। खेलको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए। सुदूरपश्चिम ११ फुटबल क्लव कैलालीलाई फराकिलो गोलअन्तरले पराजित गर्दै झापा ११ अघिल्लो चरणमा सहजै प्रवेश गरेको छ। झापाको बितोमाडस्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा झापा ११ ले पाहुना टोली सुदूरपश्चिमलाई शून्यविरुद्ध ५ गोल गरेका थिए। घरेलु दर्शकको भरपुर समर्थन पाएका झापा ११ ले खेलको छैटौं मिनेटबाट अग्रता लिएको थियो। झापा ११ का तर्फबाट देवेन्द्र तामाङले पहिलो गोल गर्दै खाता खोलेका थिए। त्यस्तै, खेलको १४ मिनेटमा झापाले आत्माघाती गोलको उपहार पायो। खेलको १४ औँ मिनेटमा झापा ११ का विश्वास श्रेष्ठको प्रहार सुदूरपश्चिमका खेलाडीको खुट्टामा ठोक्किएर ‘अनगोल’ भएको थियो। खेलको ३१ औं मिनेटमा कर्ण लिम्बु र ४५ औं मिनेटमा गिल्सन खमिर कन्दङवाले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए। पहिलो हाफ्मा ४ गोलले अग्रता लिएका झापा ११ ले दोस्रो हाफको ५२ औं मिनेटमा कर्ण लिम्बुले दोस्रो गोल गर्दै टिमलाई विजयी बनाए। झापा ११ का अगाडि सुदूर पश्चिमका खेलाडी मैदानमा स्तब्ध देखिएका थिए। दुइगोल गर्ने झापाका कर्ण लिम्बु खेलको म्यान अफ दि म्याच घोषित भए। उनले नगद २५ हजार प्राप्त गरे। आइतबार विभागीय टोली नेपाल पुलिस क्लब र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। एक विदेशी टोलीसहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद १२ लाख ५१ हजारसहित ट्रफी प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आगामी फागुन २८ हुनेछ।  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.