काठमाडौं/
काठमाडौंमा जारी आठौँ शेरबहादुर स्मृति महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले एभरेष्ट क्लबलाई पराजित गरेको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा एपिएफले एभरेष्ट क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपिएफले एभरेष्टलाई २५–१९, २५–१५ र २५–१० ले हराएको हो । त्यस्तै बिहीबार नै भएको पहिलो खेलमा आर्मीले पनि एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो । आर्मीले एभरेस्टलाई २५–१६, २५–१८ र २५–१७ को सोझो सेटमा हरायो । हारसंगै एभरेस्ट प्रतियोगिताबाट बाहिरिएको छ ।अब सेमिफाइनलमा एपिएफ क्लबले न्युडाइमण्ड क्लब र नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबसंग खेल्ने छ ।शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगितामा ५ टोलीको सहभागीता रहेको छ । जस अन्तर्गत समूह ए मा एपीएफ, एभरेष्ट र नेपाल आर्मी तथा समूह बी मा नेपाल पुलिस क्लब र टिप टप न्यु डायमन्ड रहेका छन् । विजेताले ४ लाख ९९ हजार र उपविजेताले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।