Everest Fuji News२०७३ माघ १९ मा प्रकाशितPublished at 2017 Feb 01
एक जना महत्वाकांक्षी राष्ट्रपतिका लागि कार्यकारी आदेश एउटा उपयोगी साधन हो।
नयाँ प्रशासनलाई 'हेर, शहरमा नयाँ प्रहरी अधिकृत आएका छन् र अब चीजहरु बदलिनेछन्' भनेर भन्न यो एउटा माध्यम हो।
सबै राष्ट्रपतिले यो अधिकारको प्रयोग गरेका छन्।
केहीले तुलनात्मक रुपमा धेरै प्रयोग गरे।
त्यसो गर्दा कम्तीमा सिद्धान्तत: उनीहरुले संसदको बाटो छलेका छन्।
संवैधानिक नियन्त्रण र सन्तुलन अमेरिकीहरुका लागि अत्यन्तै प्रिय छ र त्यसैले कार्यकारी आदेशहरु विवादमा परिरहन्छन्।
तर त्यस्ता आदेशले विषयवस्तुभन्दा पनि काम गर्ने शैलीलाई प्रतिविम्बित गरेको देखिन्छ।
संसदको अवरोध
राष्ट्रपतिले केही भन्दैमा त्यो भइहाल्छ भन्ने पनि होइन।
आफूले पद सम्हालेको दोस्रो दिनमा बराक ओबामाले 'ग्वान्टानामो बे'स्थित बन्दी गृह बन्द गर्न आदेश दिए।
तर त्यो कहिल्यै भएन।
निर्णयहरुमा अवरोध गर्न संसद अनुभवी छ।
जस्तै यदि ट्रम्पले भनेजस्तै मेक्सिकोसँगको सीमामा पर्खाल बनाउन धेरै रकम लाग्ने भए शायद सबै खाले अवरोध सिर्जना हुन सक्छन्।
कानूनी चुनौतीहरु पनि आउन सक्छन् जुन डोनल्ड ट्रम्पले देखिसकेका छन्।
ट्रम्पका कार्यकारी आदेशहरुले प्रशस्तै प्रशंसा र बहस निम्त्याएका छन् र साथै तिनीहरु समाचार शीर्षकहरु बनिरहेका छन्।
ओबामाकेयर, वातावरण वा मुलुकमा कसलाई प्रवेश गराउने भन्ने लगायतका विषयमा साँच्चिकै के हुनेछ, त्यो चाहिँ समयले नै प्रष्ट पार्नेछ।